'सेयर बजारको पुँजीगत लाभकर अन्तिम नै हो, भ्रममा नपरौ'
उनले यसअघि ७.५ प्रतिशत रहेको करलाई १० प्रतिशत र ५ प्रतिशत रहेको दरलाई ७.५ प्रतिशतमा समायोजन गरिएको जानकारी दिँदै यो नै अन्तिम संरचना भएको दोहोर्याए ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा लगाइएको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) अन्तिम व्यवस्था भएको स्पष्ट पार्दै यसबारे बजारमा फैलिएको भ्रमप्रति असन्तुष्टि जनाएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पुँजीगत लाभकरलाई लिएर केही सञ्चारमाध्यममा गलत व्याख्या भएको दाबी गर्दै यो कर प्रणाली अन्तिम र स्थायी प्रकृतिको भएको बताए ।
पूँजीगत लाभकरको अन्यौलता चिर्दै अर्थमन्त्री वाग्लेले भने “फाइनल नै हो, हजुर फाइनल नै हो । केही सञ्चारमाध्यमले यो अन्तिम होइन भनेर लेखे, तर पुँजीगत लाभकर अन्तिम करकै रूपमा कायम छ।” उनले यसअघि ७.५ प्रतिशत रहेको करलाई १० प्रतिशत र ५ प्रतिशत रहेको दरलाई ७.५ प्रतिशतमा समायोजन गरिएको जानकारी दिँदै यो नै अन्तिम संरचना भएको दोहोर्याए । अर्थमन्त्री वाग्लेले ४० लाख रुपैयाँसम्बन्धी व्यवस्थाबारे फैलिएको भ्रम पनि खारेज गर्दै उक्त सीमाले आम लगानीकर्तालाई असर नगर्ने स्पष्ट पारे । यसैगरी, उनले विद्युत् महसुलसम्बन्धी व्यवस्थाबारे पनि प्रस्टिकरण दिँदै सर्वसाधारण उपभोक्तालाई लक्षित गरी कर संरचना तयार गरिएको बताए । उनका अनुसार २० देखि ३० युनिटसम्मको विद्युत् खपतमा छुट दिइएको छ भने १५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई न्यून कर भार पर्नेछ ।
उनले विद्युत् महसुलमा कर लगाउने नीति ठूला पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक रहेको दाबी गरे ।
अर्थमन्त्री वाग्लेले बजेट अर्धवार्षिक समीक्षामा कटौती गर्ने परम्परा अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनका अनुसार यसअघि बजेटको आकार बढाउने र पछि ठूलो कटौती गर्ने अभ्यासले विकास आयोजना प्रभावित हुने गरेको थियो ।