कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि भएको हो, यसमा कुनै शङ्का नगरौँ
अर्थमन्त्री वाग्लेले तलब वृद्धिको गणितीय हिसाब प्रस्ट पार्दै कर्मचारीहरूको खाइपाइ आएको १० प्रतिशत आधार तलब (बेस) मा बढाइएको र अर्को १० प्रतिशत कार्यसम्पादन (पर्फमेन्स) सँग जोडिने गरी वृद्धि गरिएको जानकारी दिए ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन् । तलब वृद्धिको विषयलाई लिएर सरकारले कर्मचारीलाई ढाँटेको वा झुक्याएको भन्ने गुनासो र अन्यौलता बाहिर आएपछि पत्रकार सम्मेलनमार्फत त्यसको खण्डन गर्दै उनले यसमा कुनै शङ्का नगर्न आग्रह गरे । अर्थमन्त्री वाग्लेले तलब वृद्धिको गणितीय हिसाब प्रस्ट पार्दै कर्मचारीहरूको खाइपाइ आएको १० प्रतिशत आधार तलब (बेस) मा बढाइएको र अर्को १० प्रतिशत कार्यसम्पादन (पर्फमेन्स) सँग जोडिने गरी वृद्धि गरिएको जानकारी दिए । यसका साथै, विगतका वर्षहरूदेखि निरन्तर उपलब्ध गराइँदै आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि आगामी आर्थिक वर्षमा यथावत् राखिएकाले समग्रमा २१ प्रतिशतकै बढोत्तरी हुने उनले प्रष्ट पारे ।