बजेट भाषण भोली ४ बजे हुने, रोकिएला अन्तिम क्षणमा सिलिङ भत्काउने परम्परा ?
बजेट २२ खर्बसम्म पुग्ने चर्चा, सिलिङ भने १८ खर्ब ९० अर्ब
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।
संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते (गणतन्त्र दिवस) का दिन बजेट सार्वजनिक गर्ने गरिन्छ । भोलि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आगामी वर्षको वार्षिक आय व्यय विवरण अर्थात् बजेट पेश गर्नेछन् ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भोलि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्ने जानकारी दिएका हुन् । सभामुख अर्यालले बजेट भाषणका लागि सम्पूर्ण सासंदहरूलाई भोलि दिउँसो ३ः४५ बजेभित्रै संसद् भवनमा उपस्थित भई आसन ग्रहण गरिसक्न निर्देशन समेत दिएका छन् ।
बजेट वक्तव्य पछि साढ ५ बजे प्रतिनिधि सभाको वैठक राखिएको छ भने ५ः४५ बजेट राष्ट्रिय सभाको वैठक राखिएको छ । दुबै वैठकमा अर्थमन्क्री वाग्लेले संयुत्त सदनमा पेश गरेको बजेटका अंगहरु (खर्च तथा राजस्व सम्वन्धी विधेयक) टेबुल गर्नेछन् ।
बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउन करका दरहरूमा लचकता, सरकारी प्रक्रियाको सरलीकरण र पूर्वाधार विकासमा निजी क्षेत्रको साझेदारीलाई विशेष प्राथमिकता दिने अपेक्षा गरिएको छ । अर्थमन्त्री वाग्लेले आगामी बजेट मुख्य गरी निजी क्षेत्रमैत्री लगानी वातावरण सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू बढाउने दिशामा केन्द्रित हुने बताउँदै आएका छन् । आगामी बजेटलाई आर्थिक सुधारको नयाँ चरण र रूपान्तरणकारी सुरुवातको रूपमा अघि बढाउनेुपर्नेमा अर्थशास्त्रीहरुको जोड छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) दिएको छ । यद्यपी आवश्यकता महसुस भएमा बजेट सार्वजनिक हुनुअघि आयोगबाट नयाँ सिलिङ लिने गरिन्छ । कतिपयले बजेटको आकार बढाएर २२ खर्ब पुर्याउनुपर्ने बताउँदै आएका छन् । तर, स्रोत संकुचनका कारण भनेजस्तो गरि आकार बढाउन कठिन छ ।