इजरायलमा २३०० कामदारका लागि रोजगारीको अवसर, क-कसले दिन पाउँछन् आवेदन ?

अनलाइन आवेदन २०८३ जेठ १७ गते राति १२ बजेदेखि खुल्नेछ भने असार ७ गते राति १२ बजेसम्म कायम रहनेछ । छनोट भएका कामदारले मासिक ६४४३.८५ इजरायली मुद्रा एनआईएस तलब पाउँछन् ।

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउन आवेदन मागेको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिहरूको स्याहार गर्न जान चाहनेहरुका लागि नेपाली कामदार छनोट प्रक्रिया अघि बढाइएको हो । 

इजरायलले दुई हजार तीन सय सहायक कामदार मागेको छ । त्यसमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् ।

विभागद्धारा जारी सूचनाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन विभागको वेब पोर्टलमा दर्ता गर्नुपर्नेछ ।

अनलाइन आवेदन २०८३ जेठ १७ गते राति १२ बजेदेखि खुल्नेछ भने असार ७ गते राति १२ बजेसम्म कायम रहनेछ । छनोट भएका कामदारले मासिक ६४४३.८५ इजरायली मुद्रा एनआईएस तलब पाउँछन् । ओभरटाइम सुविधा इजरायली कानुन अनुसार हुने बताइएको छ । कामदारले सातामा बढीमा ६ दिन काम गरि ४२ घण्टा पुर्याउनुपर्ने छ । अतिरिक्त समय काम गरेमा छुट्टै सुविधा दिइने र वार्षिक बिदा इजरायली कानुन अनुसार हुने सूचनामा उल्लेख छ ।

बसोबासको व्यवस्था रोजगारदाताले गर्ने भए पनि खर्च कामदारले तिर्नुपर्ने र खाना कामदारकै हुने विभागद्धारा जारी सूचनामा उल्लेख छ । कम्तीमा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलोग्राम भएको, कम्तीमा कक्षा १० उत्तीर्ण गरी एएनएम वा सीएमए विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टू वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयर गिभिङ तालिम लिएको हुनुपर्नेछ । सुरुमा एक वर्षको करार भएपनि अधिकतम ५ वर्षसम्म थप्न सकिने सूचनामा उल्लेख छ ।

यस्तो छ, सूचनाको व्यहोरा

प्रकाशन भएका दस्तावेजहरू

6a16827980d71_1779860089.pdf