अध्यागमन विभागद्वारा ५ महिनामा १५२ विदेशी निष्काशित

तथ्यांक अनुसार देशनिकाला गरिएका मध्ये १०५ जना भिसा अवधि समाप्त भइसकेपछि पनि नेपालमा बसोबास गरिरहेका (ओभरस्टे) व्यक्ति रहेका छन् ।

काठमाडौं । अध्यागमन विभागले पछिल्लो पाँच महिनाको अवधिमा १५२ जना विदेशी नागरिकलाई देशनिकाला गरिएको विवरण सार्वजनिक गरेको छ । विभागका अनुसार सन् २०२६ को जनवरी १ देखि मे ११ सम्मको अवधिमा उक्त संख्यामा विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको हो । तथ्यांक अनुसार देशनिकाला गरिएका मध्ये १०५ जना भिसा अवधि समाप्त भइसकेपछि पनि नेपालमा बसोबास गरिरहेका (ओभरस्टे) व्यक्ति रहेका छन्। बाँकी ४७ जनामाथि लागुऔषध कारोबार, भिसा प्रयोजन विपरीत गतिविधि, नक्कली राहदानी तथा भिसा प्रयोगजस्ता कारणमा कारबाही गरिएको उल्लेख छ । २०२५ मा ५२६ जनालाई निष्काशित गरेको थियो । त्यसमध्ये ४५९ जना ओभरस्टे गरेका थिए ।

अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी कार्यान्वयनका लागि मंगलबार सरोकारवालासँग अभिभुखिकरण तथा अन्तरक्रिया कार्यक्रम मार्फत सोको बारेमा जानकरी दिएको हो । विभागका अनुसार उक्त प्रणालीले विदेशी नागरिकको स्थानीय दर्ता, सुरक्षा निगरानी, अपराध अनुसन्धान तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ । होटल, ट्रेकिङ एजेन्सी, वायुसेवा, बैंक, टेलिकमलगायत सेवा प्रदायक संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ । विदेशी नागरिकले विभागको मोबाइल एपमार्फत ‘सेल्फ इन्रोलमेन्ट’ गर्न सक्ने तथा सेवा प्रदायकले वेब पोर्टलमार्फत दर्ता हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको हो ।