सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने, ट्राफिक र यातायात महासङ्घबीच सम्झौता

यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको छ । कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा समेत सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको छ । ट्याग प्रणाली लागू भएसँगै अवाञ्च्छित गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) लगायतमा ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउन, झोला हराउने तथा सामान साटिने समस्या अन्त्य गर्न र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन ट्याग प्रणाली लागू गरिने भएको हो ।

्शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच ट्याग प्रणाली कार्यान्वयनका विषयमा औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरे । सम्झौताअनुसार अब लामो दूरीका सार्जनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलोको अवस्थामा मात्र यात्रुले सामान बुझ्न पाउनेछन् । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास सरोकारवालाको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न ‘लगेज ट्याग’ प्रणालीको आवश्यकतामा जोड दिए ।

‘सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ’ वरिष्ठ उपरीक्षक अधिकारीले भने ।

महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भिित्रिँदा लगेज सुरक्षित हुने बताए । सिटौलाले यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेकोमा ट्याग प्रणालीसँगै समाधान हुने विश्वास लिए । यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको छ । कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा समेत सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको छ । ट्याग प्रणाली लागू भएसँगै अवाञ्च्छित गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।