१० महिनामा १४ खर्ब ४३ अर्ब व्यापार घाटा, आयात र निर्यात १४ प्रतिशतले बढ्यो
१० महिनामा मात्र मुलुकले वैदेशिक व्यापारतर्फ १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष भने १२ खर्ब ५६ अर्ब रुपैयाँ व्यापार घाटा थियो ।
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि वैशाख मसान्तसम्म १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यस अवधिमा आयात १४.८२ प्रतिशतले बढेको छ भने निर्यात पनि १४.२५ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा १४.९२ र कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोडको आयत हुँदा २ खर्ब १७ अर्ब ९१ करोडको निर्यात भएको थियो ।
१० महिनामा मात्र मुलुकले वैदेशिक व्यापारतर्फ १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष भने १२ खर्ब ५६ अर्ब रुपैयाँ व्यापार घाटा थियो । नेपालले कुल १५७ देशसँग व्यापार गरेको छ । जसमध्ये ३४ देशसँग व्यापार नाफा र १२३ देशसँग व्यापार घाटा रहेको छ । सबैभन्दा धेरै भारतसँग व्यापार घाटा रहेको छ भने डेनमार्कसँग सबैभन्दा धेरै व्यापार नाफा रहेको छ ।
यस अबधिमा सबैभन्दा डिजेल र क्रुड सोयाबिन आयल भित्रिएको छ । तथ्यांक अनुसार एक खर्ब ३० अर्ब रुपैयाँको ११ लाख ४४ हजार केएल डिजेल आयात भएको छ । त्यस्तै, १ खर्ब ६ अर्ब रुपैयाँको ६५ करोड ५६ लाख लिटर क्रुड सोयाबिन आयल आयात भएको छ ।
सोही अवधिमा ४८ अर्बको एक अर्ब १० करोड केजी स्पन्ज आइन आयात भएको छ। खाना पकाउने ग्यास (एलपिजी) ४६ खर्ब १३ करोड रुपैयाँको ४४ करोड ३१ लाख ३७ हजार केजी आयात भएको छ ।