आज एकैदिन बजेट, पूर्वाधार, सुशासनदेखी सामाजिक सुरक्षासम्म १० संसदीय समितिमा छलफल (कार्यसूचीसहित)

अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची छ ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थाबारे गृह मन्क्रालयसँग छलफल गर्ने कार्यत्रम छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दैछ । बैठकमा मध्यपूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको प्रभावबारे छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिले नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।

दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषय तथा विपद् व्यवस्थापनसम्बन्धी सरकारी तयारीबारे छलफल हुने छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे छलफल गर्नेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फर्छ्यौट सम्बन्धमा छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने, लैङ्गिक असमानता अध्ययन उपसमितिको प्रगति विवरणमाथि छलफल गर्ने तथा अन्य उपसमिति गठनका विषयमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र २ बस्ने श्रम तथा उपभोक्ता हित समितिको बैठकको कार्यसूची भने खुलाइएको छैन ।