चिया निर्यातको अवरोध हट्यो, अनिवार्य परीक्षणबाट अस्थायी रूपमा मुक्त
चिया बोर्डले जारी गरेको सूचनाअनुसार आयात गरिने चियाका खेप (कन्साइनमेन्ट)हरुमा र्यान्डम (अनियमित) परीक्षण गरिने छ । योसँगै भारतभित्रको उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छेको परीक्षण हुने छैन । मे १ देखि भारतले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको थियो ।
काठमाडौं। चिया निर्यातमा भारतले गरेको अवरोध हटेको छ । चिया निर्यातको सिजनमै भारतले एक्कासी निर्यातमा रोक लगाएपछि समस्या भएको थियो । भारतले चिया निर्यात लगाएको अवरोध २० दिनपछि बुधबारदेखि सहज बनाएको हो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको चिया बोर्डले मंगलबार राति सूचना जारी गर्दै नेपालको चिया निर्यात गर्ने बाटो खोलेको हो । यसअघि भारतले नेपालबाट भारततर्फ जाने चियामा लगाएको गैरभन्सार अवरोध हटाएको छ ।
भारतको टी (चिया) बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षण सम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा संशोधन गरेको हो । मंगलबार साँझ भारतीय चिया बोर्डले सूचना जारी गर्दै भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई अनिवार्य परीक्षणबाट अस्थायी रूपमा मुक्त गरेको छ ।
चिया बोर्डले जारी गरेको सूचनाअनुसार आयात गरिने चियाका खेप (कन्साइनमेन्ट)हरुमा र्यान्डम (अनियमित) परीक्षण गरिने छ । योसँगै भारतभित्रको उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छेको परीक्षण हुने छैन । मे १ देखि भारतले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको थियो ।
नेपाली चिया निर्यात भारतीय बजार मात्र सीमित भएको अवस्थामा अनावश्यक रुपमा किसानलाई दुख दिएको भन्दै प्रतिनिधिसमामा विषय प्रवेश गरेको थियो । सहजिकरणका लागि कुटनीतिक पहल गर्न सांसदहरुले माग गरेका थिए ।
नेपालबाट साढे ३ अर्ब रुपैयाँ हाराहारीको चिया निर्यात हुने गरेको छ । त्यसमध्ये ९० प्रतिशत भारतमा निर्यात हुन्छ ।