विनिमय दरका कारण १० महिनामा राज्यलाई थपियो डेढ खर्ब बढी भार, सार्वजनिक ऋण पुग्यो ३० खर्व नजिक

ऋण सेवा खर्चका लागि २ खर्ब ९२ अर्ब ५२ करोड भुक्तानी

सरकारले १० महिनामा ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ खुद ऋण परिचालन गरेको छ । जवकी सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को वैशाखसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत (१५ खर्ब ९३ अर्ब ८१ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.४३ प्रतिशत (१३ खर्ब ८१ अर्ब २२ करोड) रहेको छ ।

वैशाखसम्मको सार्वजनिक ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०८ प्रतिशत पुगेको छ ।  चालु आर्थिक वर्षको सुरु (साउन १) मा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेको थियो । पछिल्लो १० महिनामा मात्रै ३ खर्ब ९९ करोड रुपैयाँ सार्वजनिक ऋण वृद्धि भएको छ । खासगरि यसअवधिमा अमेरिकी डलर बलियो हुँदाको असर सार्वजनिक ऋणमा परेको छ । विनियम दरका कारण मात्र वाह्य ऋणमा थप १ खर्ब ६७ अर्ब ७५ करोड दायित्व थपिएको छ ।

सरकारले १० महिनामा ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ खुद ऋण परिचालन गरेको छ । जवकी सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । यसअवधिमा प्राप्त सार्वजनिक ऋण वार्षिक लक्ष्यको ६१.३ प्रतिशत हुन आउँछ । कार्यालयकाअनुसार यसअवधिमा विनिमय दरका कारण १ खर्ब ६७ अर्ब ७५ करोड बराबरको विनिमय नोक्सानी (ऋण दायित्वमा वृद्धि) भएको छ । २०८२ असारमा अमेरिकी एक डलरको सटही दर रहेकोमा २०८३ वैशाखमा अन्तिममा १५३ रुपैयाँ ४४ पैसा पुगेको छ । ऋण प्राप्तिमध्ये आन्तरिक ऋण लक्ष्यको ८२.५ प्रतिशत अर्थात् २ खर्ब ९८ अर्ब ६६ करोड र वैदेशिक ऋणतर्फ लक्ष्यको २८.४६ प्रतिशत अर्थात् ६६ अर्ब ४९ करोड रुपैयाँ मात्र प्राप्त भएको छ ।

सरकारले वैशाखसम्म ऋणको साँवा र ब्याज भुक्तानी (ऋण सेवा खर्च) का लागि २ खर्ब ९२ अर्ब ५२ करोड खर्च गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४.४३ प्रतिशत हुन आउँछ । कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८५ अर्ब ६६ करोड र ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ । त्यसैगरी, बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड साँवा र १० अर्ब ६ करोड ब्याज भुक्तानी गरिएको छ । सरकारले चालू वर्ष ऋण सेवाका लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेकोमा वैशाखसम्म ७१.१७ प्रतिशत खर्च भइसकेको छ ।

वैशाखसम्म खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । सार्वजनिक ऋणमा भएको कुल वृद्धिमा खुद ऋण परिचालनको अंश ४४.२७ प्रतिशत र विदेशी विनिमय घाटाको हिस्सा ५५.७३ प्रतिशत छ ।

वैशाख महिनामा मात्र सरकारले १५ अर्ब ८७ करोड ऋण लिएको छ । त्यस्तै, यसअवधिमा २६ अर्ब ८१ करोड आन्तरिक र ११ अर्ब ५९ करोड बाह्य ऋण भुक्तानी गरेको छ ।