सहकारी पीडितको बचत फिर्ता गर्ने चक्रीय कोषमा थप २५ करोड दिने अर्थमन्त्री वाग्लेको घोषणा
सरकारले बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरणका लागि स्थापना भएको कोषमा यसै साल २५ करोड विनियोजन गरेको छ । थप २५ करोड विनियोजन गर्न सरकार तयार छ ।
काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ दिने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) का विषयमा राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै मंगलबार अर्थमन्त्री वाग्लेले सहकारी क्षेत्र र पीडित बचतकर्ताको समस्या दीर्घकालीन रुपमा समाधान गरिने स्पस्ट पारे ।
‘सोमबारदेखि समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु भएको छ,’ वाग्लेले भने, ‘सरकारले बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरणका लागि स्थापना भएको कोषमा यसै साल २५ करोड विनियोजन गरेको छ । थप २५ करोड विनियोजन गर्न सरकार तयार छ ।’ भूमि, सहकारी मन्त्रालयले बचत फिर्ताको कामलाई अघि बढाएको भन्दै वाग्लेले भने, ‘कोषमा राखेको रकम राज्यकोषबाट दिइने होइन, त्यस्तो वितरणमा हामी विश्वास गर्दैनौँ । सहकारीकै सम्पत्तिलाई बिक्री गरेर आएको पैसा चक्रीय कोषमा राखेर त्यसैबाट बचतकर्तामा जाने हो । अहिले सरकारले अस्थायी सहजीकरण मात्र गरेको हो ।’
सरकारले दिने थप २५ करोड रुपैयाँसहित कोषमा सरकारको तर्फबाट ५० करोड योगदान हुनेछ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ बनाइ लागु गरिरहेको छ । स्थापित चक्रीय कोषमा सरकारले दिएको र समस्याग्रस्त सहकारीका ऋणीको सम्पत्ति बिक्रीबाट प्राप्त रकम जम्मा हुने र सोही रकमबाट पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कार्यक्रम छ ।