धितोपत्र बोर्ड अध्यक्षका लागि ४७ आवेदकबाट ४ भए सर्टलिस्ट, बोर्ड र राष्ट्र बैंकका २-२ जना

सर्टलिस्टमा परेको ४ जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थ मन्त्रालयमा बोलाएको छ । समितिले सर्टलिस्टमा परेका ४ जना मध्येबाट कम्तीमा ३ जनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जना आवेदक सर्टलिस्ट (संक्षिप्त सूची) मा परेका छन् । धितोपत्र वोर्ड अध्यक्ष सिफारिसका लागि गठित सिफारिस समितिले बहालवालासहित २ जना धितोपत्र बोर्ड र २ जना नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई संक्षिप्त सूचीमा समेटेको हो । धितोपत्र बोर्डको अध्यक्ष हुने भन्दै ४७ जनाले आवेदन दिएका थिए । 

सर्टलिस्टमा परेकाहरुमध्ये धितोपत्र बोर्डकै बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्य, बोर्डबाटै केही समयअघि अवकास पाएका डा. नवराज अधिकारी र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्धय मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट छन् । सर्टलिस्टमा परेको ४ जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थ मन्त्रालयमा बोलाएको छ ।

समितिले सर्टलिस्टमा परेका ४ जना मध्येबाट कम्तीमा ३ जनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

यसअघि डा. भट्टको बोर्ड अध्यक्षमा आवेदन परेपछि सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले राजीनामा दिएका थिए । भट्टको राजीनामा आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यलाई संयोजक तोकिएको थियो । सिफारिस समितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन दाहाल सदस्य छन् ।