नेप्से सूचक १.०३ अंकले घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच

सोमबार नेप्से परिसूचक १.०३ अंक घटेर २७३०.९१ विन्दुमा झरेको छ । सोमबार २ अर्ब ४५ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ ।

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज नेप्से सोमबार भने दबाबमा रहँदै घटेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक १.०३ अंक घटेर २७३०.९१ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार २ अर्ब ४५ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । आज ३३९ स्टकको ५८ लाख २८ हजार कित्ता शेयर ४३ हजारभन्दा बढी पटक कारोबार भएको छ ।

सोमबार इंगवा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत बढेको छ । त्यस्तै, बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ । अर्कोतर्फ निफ्रा उर्जा ऋणपत्र (७ प्रतिशत २०८५/८६) को मूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज साहस उर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८ करोड ४३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

यस दिन अधिकांश उपसमूहमा मिश्रित प्रदर्शन देखिएको छ । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहमा सामान्य सुधार देखिए पनि वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहमा गिरावट आएको छ ।

 आज ११९ कम्पनीको मूल्य बढेको छ भने १३२ को घटेको छ । त्यस्तै १८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।