अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठक पुगे कारागार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थहरुलाई पाठकले धम्की दिएको बताइएको छ ।
काठमाडौं । जिल्ला अदालत काठमाडौं अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पाठकमाथिको आरोप, त्यसविरुद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेरि थुनामा पठाउने आदेश गरेको हो ।
पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थहरुलाई पाठकले धम्की दिएको बताइएको छ ।
इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई फिलिपिन्समा पक्राउ गरेर नेपाल ल्याएको हो । पाठकसहित नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको थियो ।