जेनजी आन्दोलन कारणले कतिपय निकायले लेखापरीक्षण गराएनन्, स्थानीय तहको बेरुजु पनि घट्योः महालेखा परीक्षक राया

शुक्रबार महालेखा परीक्षक कार्यालयको प्रतिवेदनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कतिपय निकायले जेनजी आन्दोलनलाई देखाएर विवरण उपलव्ध नगराएका कारण लेखापरीक्षण हुन नसकेको बताएका हुन् ।

काठमाडाैँ । महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनको असर लेखापरीक्षणमा देखिएको बताएका छन् । शुक्रबार महालेखा परीक्षक कार्यालयको प्रतिवेदनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कतिपय निकायले जेनजी आन्दोलनलाई देखाएर विवरण उपलव्ध नगराएका कारण लेखापरीक्षण हुन नसकेको बताएका हुन् ।

उनकाअनुसार गत वर्ष ७ सय ५३ स्थानीय तहको अडिट गरिएकोमा यस वर्ष ७ सय २१ स्थानीय तहको मात्रै लेखापरीक्षण गरिएको छ । कतिपय स्थानीय तहले अनुकूल अवस्था नभएको भन्दै अडिट नगराएको तथा आन्दोलनका कारण कार्यालय क्षति र कागजात व्यवस्थित नभएकाले अडिट हुन नसकेको उनको भनाइ छ ।

यद्यपि स्थानीय तहको बेरुजु तीन वर्षयता लगातार घट्दो क्रममा रहेको उहाँको भनाई छ । केही स्थानीय तहको लेखापरीक्षण हुन नसके पनि समग्र रूपमा वित्तीय अनुशासनमा सुधार देखिएको रायाले बताए । 

महालेखा परीक्षक रायाले महालेखा परीक्षकको कार्यालयले अनुसन्धान नभई छानबिन र यकिन गर्नुपर्ने विषय मात्रै औँल्याउने स्पष्ट पारे । उनकाअनुसार विशेष ऐनहरूले कर निर्धारण वा महसुल निर्धारण गर्ने अधिकार सम्बन्धित अधिकारीलाई दिएका हुन्छन् । लेखापरीक्षक भएकाले देखिएका विषय छानबिन गरी टुंग्याउन सम्बन्धित निकायलाई आग्रह गर्ने गरेको उनको भनाइ छ । 

महालेखा परिक्षक रायाले भने, “स्थानीय तहको बेरुजु किन घट्यो भन्ने विषयमा पहिले स्पष्ट पार्न चाहन्छु । नेपालमा जम्मा ७५३ स्थानीय तह छन् । गत वर्ष केही बाँकीसहित ७५५ स्थानीय तहको लेखापरीक्षण गरिएको थियो । यस वर्ष भने ७ सय २१ स्थानीय तहको मात्रै अडिट गरिएको छ । केही स्थानीय तहले अहिले अडिट गराउन अनुकूल नभएको भन्दै लेखापरीक्षण गराएनन् । भदौको आन्दोलनका कारण कतिपय कार्यालयमा क्षति पुगेको, कागजात व्यवस्थित नरहेको अवस्था देखिएकाले ती स्थानीय तहको अडिट हुन सकेन । त्यसैले लेखापरीक्षणको दायरा घट्दा बेरुजु रकम पनि केही घटेको हो । तर बेरुजु घट्नुको कारण केवल अडिट कम हुनु मात्र होइन । मेरो पहिलो प्रतिवेदनमा स्थानीय तहको बेरुजु करिब ३१ अर्ब रुपैयाँ थियो । गत वर्ष २५ अर्ब थियो भने अहिले १९ अर्बमा झरेको छ । यसले स्थानीय तहमा क्रमशः सुधार भइरहेको संकेत पनि गर्छ ।”

रायाले यस वर्ष कुल बेरुजु ७ खर्ब ५५ अर्ब रूपैयाँ पुगेको जानकारी दिँदै उनले लेखा उत्तरदायी अधिकृतहरूको नाम वार्षिक प्रतिवेदनमै सार्वजनिक गरिएको बताए । मन्त्रालयका सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवार अधिकारीका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको उनको भनाइ थियो ।

अडिटरहरूले होटलमा बसेर अनियमितता गर्ने आरोपबारे उनले प्रमाणसहित जानकारी दिन आग्रह गरे । उनले कसैले अनियमितता गरेको प्रमाण भए आफूलाई जानकारी दिन आग्रह गरे । त्यस्तो कर्मचारीमाथि छानबिन हुने उनको भनाइ छ ।

रायाले अडिट, प्रारम्भिक प्रतिवेदन र सम्परीक्षण प्रक्रियामार्फत यस वर्ष १४ अर्ब रुपैयाँ राजस्व खातामा फिर्ता भएको जानकारी दिए । उनकाअनुसार खर्च भइसकेको वा उठ्न बाँकी रकममध्ये १४ अर्ब रुपैयाँ उठ्नु ठूलो उपलब्धि हो । महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याउने काम गर्ने र त्यसपछि सार्वजनिक लेखा समिति तथा सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।