सम्पत्ति छानबिन आयोगले माग्यो दुई दसकमा क्रियाशिल १६ थरी व्यक्तिका जायजेथा विवरण, छानबिनमा को को तानिन्छन्
उजुरी दिन सर्वसाधारणलाई आह्वान
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।
सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएका क्षेत्रका पूर्व तथा वर्तमान पदाधिकारी एवं कर्मचारीहरूलाई ३० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको स्वदेश तथा विदेशको सम्पत्ति विवरण पेस गर्न भनेको हो ।
आयोगले आर्थिक वर्ष २०४६र४७ देखि आव २०८२र८३ को चैतसम्मका सार्वजनिक पदाधिकारी, तोकिएको अवधिमा कार्यरत रही हाल अवकाशप्राप्त राजनीतिक पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्ने अख्तियारी पाएको छ ।
यी व्यक्तिहरुले बुझाउनुपर्छ सम्पत्ति विवरण
पूर्व तथा वर्तमान प्रधानमन्त्री, मन्त्री, सांसद र संविधान सभाका सदस्यहरू ।
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्व न्यायाधीशहरू र नेपाली सेनाका सेवानिवृत्त राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका अधिकारीहरू ।
प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, र प्रदेश सभाका सदस्यहरू ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू ।
राजदूत र कूटनीतिक नियोगका प्रमुख तथा कर्मचारीहरू ।
निजामती, प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सोभन्दा माथिका सबै कर्मचारी । साथै, कार्यालय प्रमुखको रूपमा कार्यरत द्वितीय श्रेणी (उपसचिव) समेतका कर्मचारी ।
नेपाल राष्ट्र बैंकका गभर्नर, सञ्चालक समिति सदस्य र राजपत्राङ्कित प्रथम श्रेणी सरहका अधिकारीहरू ।
सरकारी बैंक, वित्तीय संस्था, सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति र विश्वविद्यालयका प्रमुख तथा वरिष्ठ अधिकारीहरू ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका सल्लाहकार, स्वकीय सचिव र राज्यकोषबाट पारिश्रमिक पाउने अन्य उच्च पदाधिकारीलगायत सम्बन्धित व्यक्तिले आफ्नो र परिवारका सदस्यका नाममा रहेको पैतृक तथा आर्जित चल(अचल सम्पत्ति, आयका स्रोतहरू (तलब, भत्ता, विदेश भ्रमण, जग्गा, सेयर, ऋण, व्यवसाय, विप्रेषण आदि्र) र सो पुष्टि हुने कागजातहरू बुझाउनुपर्नेछ । जानाजानी गलत विवरण पेश गर्ने वा सम्पत्ति विवरण नबुझाउनेलाई कारबाहीको चेतावनी दिइएको छ ।
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरुले गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिन सर्वसाधारणलाई आब्ह्वान पनि गरेको छ । आयोगले विहीबार गोरखापत्रमा एक सूचना जारी गरी भ्रष्टाचार वा अरु अपराध गरेर सम्पत्ति कमाउनेहरुबारे सूचना दिन भनेको हो । आयोगले स्वत: छानविनको सूचीमा पर्ने वा नपर्ने जो कोही सार्वजनिक पदाधिकारीहरुका बारेमा उजुरी दिन सकिने भनेको छ ।
यस्तो छ आयोगको सूचना