विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना हुने भएपछि महावीर पुन उत्साहित वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई छलफलका लागि बोलाए, नेताहरूलाई दिएको श्राप पनि लिए फिर्ता

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै यसलाई सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गरे । लामो समयदेखि आफूले उठाउँदै आएको माग पूरा भएकोमा खुसी व्यक्त गर्दै उनिले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद समेत दिएका छन् । पुनले केही समय अगाडि मात्र संसद्मा आफ्नो माग प्रस्तुत गरेको र तीन हप्ता अघि प्रधानमन्त्रीलाई लिखित पत्र नै बुझाएको स्मरण गराउँदै यो उपलब्धिलाई सकारात्मक कदमको रूपमा अर्थ्याउनुभएको छ।

अबको मुख्य चुनौती नयाँ मन्त्रालयलाई प्रभावकारी र नतिजामुखी बनाउनु रहेको उल्लेख गर्दै उनिले स्वदेश तथा विदेशमा रहेका विज्ञ, देशभक्त वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई छलफलका लागि आह्वान गरेका छन् । मन्त्रालयलाई कसरी दक्षताका साथ सञ्चालन गर्न सकिन्छ र देशको समृद्धिका लागि यसलाई कसरी उपयोग गर्ने भन्ने विषयमा ठोस योजना बनाउन उनिले सबै जानकार व्यक्तित्वहरूलाई रचनात्मक सुझावसहित आउन आग्रह गरेका हुन ।

विगतमा मागहरू सुनुवाइ नहुँदा आक्रोशित मुद्रामा देखिएका पुनले यसपटक भने निकै नरम र सकारात्मक शैली अपनाए । उनिले यसअघि निराशा र आक्रोशका बीच राजनीतिक नेतृत्वप्रति व्यक्त गरेका कडा शब्दहरू र श्राप समेत फिर्ता लिएको घोषणा गर्दै सरकारको दीर्घायुको कामना गरेका छन् । पुनको यो पछिल्लो अभिव्यक्तिले नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ उत्साह थपेको छ भने सरकार र नागरिक अभियन्ताबीचको सहकार्यको नयाँ सम्भावना पनि देखाएको छ।