प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री आउने छैन टुँगो

सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गरिने छ । बुधबार नीति तथा कार्यक्रमको छलफल र जवाफ दिनका लागि प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरुले अवरोध गरेका थिए

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बुधबारको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएपछि नीति तथा कार्यक्रममाथीको छलफल बिहीबार (आज) लाई अघि सारिएको हो । सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गरिने छ । बुधबार नीति तथा कार्यक्रमको छलफल र जवाफ दिनका लागि प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरुले अवरोध गरेका थिए । लगातारको विपक्षी अवरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री शाहसँग आँफैले कुरा गर्ने तर, संसदले नियमित प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए । तर, सभामुख अर्यालको आश्वासनमा विपक्षी सांसदहरु नभुलेपछि हिजो प्रतिनिधिसभा आजसम्मका लागि स्थगित भएको थियो । 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ ।