बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, यी मुद्दामा हुँदैछ दुई ‘शक्ति राष्ट्र’बीच वार्ता

चीनले ५०० वटा बोइङ विमान खरिद गर्न सक्ने र अमेरिकी कृषि उत्पादनको आयात बढाउन सक्ने अनुमान

चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार-विमर्श हुनेछ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा बुधबार साँझ बेइजिङ पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच बिहीबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा हुने यो भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ ।

चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार-विमर्श हुनेछ । मंगलबार ट्रम्पले आफूले सीसँग इरानबारे ‘लामो छलफल’ गर्ने बताएका थिए । तर पनि भ्रमणको मुख्य केन्द्र व्यापार नै रहने स्पष्ट पारेका थिए । 

ट्रम्प करिब एक दशकपछि चीन भ्रमणमा गएकाले त्यसलाई आफैंमा विशेष मानिएको छ । ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक बेइजिङ पुगेका हुन् । यसअघि सन् २०१७ नोभेम्बरमा उनी चीन भ्रमणमा गएका थिए । यो भेट तनावपूर्ण भू–राजनीतिक पृष्ठभूमि र विश्वव्यापी व्यापारिक खिचातानीका बीच हुन लागेको हो । साथै, सीसँग भेटवार्ता विश्वव्यापी भू-राजनीतिक र आर्थिक अनिश्चितता चुलिएको समयमा हुन लागेकाले पनि यसलाई चासोका साथ हेरिएको छ । दुई महाशक्ति राष्ट्रका प्रमुखबीचको यो भ्रमणलाई विश्वभर चासोका साथ हेरिएको छ ।

ट्रम्पको भ्रमण टोलीमा १६ वटा प्रतिष्ठित अमेरिकी कम्पनीका सिइओहरू सहभागी छन् । जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिन्कसहित प्रविधि र बैंकिङ क्षेत्रका दिग्गजहरू रहेका छन् । अमेरिकाले चीनसँग दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकारजस्तै छ । चीनले ५०० वटा बोइङ विमान खरिद गर्न सक्ने र अमेरिकी कृषि उत्पादनको आयात बढाउन सक्ने अनुमान गरिएको छ ।


व्यापारिक कर विवाद

अमेरिका-चीन व्यापार युद्ध अझै ठूलो मुद्दा छ । ट्रम्पले पहिले नै चिनियाँ सामानमा भारी कर लगाउने चेतावनी दिइसकेका छन् । दुवै देशले व्यापारिक तनाव घटाउने विषयमा छलफल गर्न सक्छन्।

ताइवान र हतियार बिक्री

ताइवानलाई लिएर पनि दुवै देशबीच तनाव छ। ट्रम्पले सी चिनफिङसँग ११ अर्ब डलरको अमेरिकी हतियार प्याकेजबारे कुरा गर्ने बताएका छन् । चीनले ताइवानलाई आफ्नो भाग मान्दै आएको छ। चीनले ताइवानमा अमेरिकी हतियार बिक्रीको निरन्तर विरोध गर्दै आएको छ ।

रेयर अर्थ र एआई

रेयर अर्थ मिनरल्स इलेक्ट्रिक गाडीलाई नभइ हुँदैन । चिप्स र रक्ष उद्योगका लागि यो अत्यन्त महत्वपूर्ण छन् । चीन यसमा विश्वको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यसमा अमेरिकाले चीनसँग आफ्नो निर्भरता घटाउन चाहन्छ। एआई र सेमीकन्डक्टर प्रविधिमा पनि दुवै देशबीच प्रतिस्पर्धा बढेको छ ।

सोयाबिन र कृषि व्यापार

चीन अमेरिकी किसानहरूका लागि ठूलो बजार हो । व्यापारिक युद्धपछि चीनले अमेरिकी सोयाबिन खरिद घटाएको थियो । अब ट्रम्प प्रशासनले कृषि निर्यात बढाउने प्रयास गर्न सक्छ ।

इरानी तेल खरिदमा विवाद

इरानबाट तेल खरिदलाई लिएर अमेरिका र चीनबीच तनाव छ । ट्रम्प प्रशासनले यसअघिबाटै चीनले ठूलो परिमाणमा इरानी तेल खरिद गरेर तेहरानलाई आर्थिक सहारा दिइरहेको आरोप लगाइरहेको छ । जबकि चीनले यसलाई आफ्नो ऊर्जा आवश्यकतासँग जोडिएको विषय बताउँदै आएको छ ।