कपिलवस्तु अस्पतालमा ३८ लाख हिनामिना, बैंकका कर्मचारीसहित ५ जना पक्राउ
अस्पतालको ३८ लाख १९ हजार ७७० रुपैयाँ सरकारी रकम संगठित रूपमा ठगी र आपराधिक विश्वासघात गरी हिनामिना गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
काडमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको करिब ३८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले अस्पताल र बैंकका कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ । अस्पतालको ३८ लाख १९ हजार ७७० रुपैयाँ सरकारी रकम संगठित रूपमा ठगी र आपराधिक विश्वासघात गरी हिनामिना गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री गरी संकलन भएको रकम नेपाल बैंकको चन्दौटा शाखामा जम्मा गर्नुपर्नेमा कर्मचारीहरूको मिलेमतोमा नक्कली बैंक भौचर बनाएर रकम हिनामिना गरिएको पाइएको छ । आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण गर्ने क्रममा १२९ थान बैंक भौचरहरू फाइलमा रहे पनि सो बराबरको रकम बैंक खातामा जम्मा नभएको भेटिएपछि घटना सार्वजनिक भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेलबासेले दिएको जाहेरीका आधारमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणी भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय र फार्मेसी सहायक ३७ वर्षीया रुक्सना खातुन रहेका छन् ।
त्यस्तै, रकम जम्मा गर्ने प्रक्रियामा मिलेमतो गरेको आरोपमा नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमल प्रसाद भण्डारी र सोही बैंकका तत्कालीन कार्यालय सहयोगी ३५ वर्षीय बिक्रम केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा अपराधिक विश्वासघात कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार सरकारी अस्पतालको रकममा नक्कली भौचर खडा गरी संगठित रूपमा भ्रष्टाचार र ठगी गरिएको यो गम्भीर प्रकृतिको घटना हो ।