आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ निर्धारण

सचिव उपाध्यायका अनुसार तोकिएको १८ खर्ब ९० अर्बको सिलिङभित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको छ ।

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) निर्धारण गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले उक्त जानकारी दिएका हुन् । सचिव उपाध्यायका अनुसार तोकिएको १८ खर्ब ९० अर्बको सिलिङभित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको छ । 

अर्थ सचिव उपाध्यायले मन्त्रालयले खर्च कटौतीका लागि ३९ वटा अनावश्यक संरचना र ३०० भन्दा बढी दरबन्दी खारेज गरेको जानकारी पनि दिए । साथै, १५ वटा असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको र आगामी बजेटमार्फत वित्तीय अनुशासनलाई अझ कडा बनाइने उनले बताए । चालु आर्थिक वर्षको खर्च र राजस्वको अवस्था कमजोर रहेकै बेला आगामी वर्षको बजेटको तयारी भइरहेको छ । सचिव उपाध्यायले प्रस्तुत गरेको विवरणअनुसार चालु वर्षमा हालसम्म पुँजीगत खर्च जम्मा २६ प्रतिशत मात्र भएको छ भने राजस्व सङ्कलन लक्ष्यको ६० प्रतिशत (८ खर्ब ८६ अर्ब) मात्र पुगेको छ ।