कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको सडक निर्माण सम्पन्न
भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्काको १०.८१ किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’ र स्तरोन्नति गरिएको हो ।
काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ-घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्काको १०.८१ किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’ र स्तरोन्नति गरिएको हो । खाँदबारी-किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर-दक्षिण ९कोशी० सडक योजनालाई हस्तान्तरण गरिएको हो । सडक निर्माण सुरु भएको करिब पाँच वर्षपछि सेनाले उक्त सडकखण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको हो । सेनाले २०७७ फागुन २४ गते च्याम्ताङ-घोङ्गप्पा सडक निर्माण सुरु गरेको थियो । सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो सडक अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ । किमाथाङ्का-जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । खाँदबारी-किमाथाङ्का सडक निर्माणमा हालसम्म रु। ६२ करोड ३६ लाख ६७ हजार खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।