‘अब योगदान लिने होइन, दिने समय हो’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आगामी पाँच वर्ष पार्टीका लागि निर्णायक समय भएको बताउँदै परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् । आइतबार ललितपुरमा पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले अहिले व्यक्तिगत योगदानको मूल्य माग्ने समय नभएको स्पष्ट पारे । उनले केही सांसद तथा कार्यकर्ताले आफूलाई पार्टीमा गरेको योगदानको चर्चा गर्दै अपेक्षा राख्ने गरेको उल्लेख गर्दै अब योगदान लिने होइन, दिने समय भएको बताए । उनले रास्वपाले छोटो समयमै उल्लेखनीय राजनीतिक सफलता हासिल गरे पनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको धारणा राखे । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भए पनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा नयाँ राजनीतिक शक्ति स्थापित हुन सकेको उनको भनाइ थियो । लामिछानेले आफूहरू सहज राजनीतिक यात्राबाट आएको स्वीकार गर्दै अबको चुनौती परिणाम दिने रहेको बताए । उनले जनताले वैकल्पिक शक्तिप्रति राखेको भरोसालाई काममार्फत प्रमाणित गर्न नसके इतिहासले कठोर मूल्यांकन गर्ने चेतावनी दिए । उनले पाँच वर्षभित्र जनअपेक्षाअनुसार काम गर्न नसके आफूहरूलाई जनताले असफल र अयोग्यका रूपमा हेर्ने बताए । सभापति लामिछानेले सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति, व्यवहार र गतिविधिप्रति विशेष सचेत रहन पनि आग्रह गरे । जनप्रतिनिधिको बोली र व्यवहारले नागरिकमा सकारात्मक वा नकारात्मक प्रभाव पार्ने भएकाले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।