ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन हुँदै

ट्राफिक प्रहरी कार्यालयले उनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन प्रक्रिया अघि बढाएको छ । ट्राफिक प्रहरी कार्यालयले उनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।

कार्यालयका अनुसार एउटै चालकले १६ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि लाइसेन्स निलम्बनका लागि विभागलाई पत्रचार गरिएको हो । पटक पटक जरिवाना तिराउँदा पनि ती चालकले ट्राफिक नियम पालाना नगरेपछि लाइसेन्स निलम्बन प्रक्रिया अघि बढाइएको कार्यालयको भनाइ छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कुनै पनि चालकले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । लाइसेन्स निलम्बन परेका चालकले ६ महिनासम्म कुनै पनि सवारी साधन चलाउन पाउने छैनन् । निलम्बन फुकुवा भएपछि मात्रै पुनः सवारी चलाउन पाउने छन् ।