डर र प्रभावमा न्याय सम्भव छैन, महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्नूः का.मु.प्रधानन्यायाधीश मल्ल

कानून दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरेकी हुन् ।

काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । कानून दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरेकी हुन् । 

‘म सबै हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु। डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीबाट आह्वान गर्दछु,’ उनले भनिन् ।

उनले आफूले जीवनभर विभेद र अन्यायको लडाइँ लडेको र अझै पनि लड्न बाँकी रहेको बताएकी छन्। ‘म आफै जीवनभर विभेद र अन्यायको लडाई लडेँ कानुन व्यवसायी हुँदा देखि। लडाई अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भइ काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा देओस्,’ उनले भनिन् । उनले विधि र वैधानिक परम्पराको हत्या गरी स्वार्थ प्रेरित कार्यले निरंकुशताको झझल्को दिने पनि बताएकी छन् ।

‘वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कामहरूले निरंकुशताको झझल्को पनि दिन्छ,’ उनले भनिन्, ‘औचित्यताको नाममा विधिमा छेडछानी गर्ने कार्य स्वेक्षाचारिता शासकका लागि स्वभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेका लागि सह्य हुँदैन । यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो। विधिको शासन विरुद्ध षड्यन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ।’ बिहीबार संवैधानिक परिषदले प्रधानन्यायाधीश पदमा मल्लसहित तीन जना न्यायाधीशलाई पन्छाएर चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरेको छ । यसरी सिफारिस गरेपछि अहिले सरकारको आलोचना समेत भइरहेको छ ।