ऊर्जा क्षेत्रमा नेपालको फड्को: विद्युत् जडित क्षमता ४ हजार २९६ मेगावाट पुग्दा ९९ प्रतिशत जनतामा पहुँच
सरकारको पहल र सक्रियता, नेपाल विद्युत् प्राधिकरणले संचालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ।
काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको हो ।
परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक ४ हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता ४ हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ ।
हाल निर्माणको क्रममा ३ हजार मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यस्तै, १४ हजार ३ सय २३ एमभीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने ३३ केभी क्षमताका करिब ८ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३ हजार ३०८ एमभीए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।
सरकारको पहल र सक्रियता, नेपाल विद्युत् प्राधिकरणले संचालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ। प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ । सबस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
यसैगरी, प्रति व्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा बराबर पुगेको छ । हालसम्म राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत बराबर पुगेको छ। हालसम्म विद्युत् निर्यात २ हजार ९१८ गिगावाट प्रति घण्टा छ भने विद्युत् आयात करिब ५९० गिगावाट घण्टा भएको छ । हालसम्म सौर्य विद्युत् उत्पादन क्षमता ६२।७ मेगावाट बराबर पुगेको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५।३ मेगावाट बराबर विद्युत् उत्पादन भएको छ । सिँचाइतर्फ हालसम्म सिँचाइ सुविधा १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा पुगेको मन्त्रालयले जनाएको छ । सिँचाइयोग्य जमिनमध्ये ५ लाख ३२ हजार ९० हेक्टरमा भने वर्षभरीमा सिँचाइ सुविधा उपलब्ध रहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय विवरणमा उल्लेख छ ।