धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिबाट संयोजक भट्टको राजीनामा, अन्योलमा प्रक्रिया

सरकारले आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसको संयोजकमा भट्ट थिए भने अन्य दुई सदस्यमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल छन् ।

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् ।

अध्यक्ष नियुक्ती गर्नका लागि योजना आयोगबाट सम्बन्धीत क्षेत्र हेर्ने सदस्य संयोजक हुने व्यवस्था छ । सरकारले आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसको संयोजकमा भट्ट थिए भने अन्य दुई सदस्यमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल छन् ।

धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ४७ जनाको आवेदन परेको छ । जसमध्ये भट्टका नातेदार उनको दाई (काका छोरा) डा गोपाल भट्टले आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् डा. गोपाल प्रसाद भट्टले आवेदन दिएपछि छनोट गर्दा स्वार्थ बाझिने भएर राजीनामा दिएको जनाएका छन् ।

भट्टको राजीनामासँगै धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने भएको छ । सरकारले अब सिफारिस समितिको संयोजक नियुक्त गरेपछि मात्रै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।