आर्थिक उन्नयन र लगानी सुरक्षलाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । महासंघ अध्यक्षको कार्यभार सम्हाल्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले उद्यमी-व्यवसायीको संरक्षण र लगानी सुरक्षलाई प्राथमिकतामा राख्ने बताए । निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई अनिवार्य औंल्याउँदै उनले समृद्धि हासिल गर्न साझेदारीको भूमिका निर्णायक हुने उल्लेख गरे । देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने, र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित संवाद गर्ने उनले जनाएका छन् । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासंघको अध्यक्ष बनेका हुन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनले कार्यभार सम्हालेका हुन् । महासंघमा वरिष्ठ उपाध्यक्षबाट स्वतस् अध्यक्ष हुने श्रेष्ठ चौथो हुन् । यसअघि स्वतस् अध्यक्ष हुनेमा भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षबाट स्वतस् अध्यक्ष भएका थिए । अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध छन् । उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् ।