काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार
उद्धार गरिएकामध्ये ५० प्रतिशत भन्दा बढीलाई मंगलबार साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा यहि वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा उक्त सेन्टर सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरको पर्खाल नाघेर भागेका थिए । उद्धार गरिएकामध्ये ५० प्रतिशत भन्दा बढीलाई मंगलबार साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलबार केन्द्रको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सेवा र व्यवस्थापनको अवस्थाबारे जानकारी लिएकी हुन् । निरीक्षणका क्रममा उनले उद्धार गरिएका व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो व्यक्त गरिन् । उनले सडकमा आश्रितहरूको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिइने र असहाय तथा बेवारिसेलाई मात्र आश्रममा राखिने स्पष्ट पारिन् ।
महानगरले हाल बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ । विशेषगरी पशुपति लगायत धार्मिक तथा पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या बढी भएकाले ती क्षेत्रमा केन्द्रित भएर अभियान सञ्चालन भइरहेको जनाएको छ । स्क्रिनिङ सेन्टर सञ्चालनमा आएपछि उद्धार गरिएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने विश्वास महानगरले लिएको छ ।
पहिलो दिन उद्धार गरिएकामध्ये ६ जना महिला र २२ जना पुरुष रहेका छन्। उनीहरूको उमेर २५ देखि ७८ वर्षसम्म रहेको छ । ठेगानाका आधारमा उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका छन् । उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एक जना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन्। ह्विलचेयर तथा वैशाखी प्रयोग गर्ने व्यक्तिहरूलाई समेत केन्द्रमा ल्याएर आवश्यक उपचार र स्याहारको व्यवस्था मिलाइएको छ ।