सर्वसाधारणका लागि खुल्यो टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ
कम्पनीले आम सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको छ ।
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री आज (बैशाख २३ गते) देखि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको छ ।
जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले जनाएको छ । यसमध्ये १२ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा बैशाख २८ गते र ढिलोमा जेठ ६ गतेसम्म खुला रहनेछ ।
आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट ‘सी-आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।