नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ९९ प्रतिशत, साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी

करिव २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ निर्माण कार्यमा र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको बताए ।

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको हो । केही बाँकी निर्माणका काम सकेर आयोजनलाई सञ्चालनको लागि हस्तान्तरण गर्ने तयारी भएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिएका छन् । उनकाअनुसार सुरुङमागै सञ्चालन गर्न पाँच वर्षको लागी चिनियाँ कम्पनी युसिन-एआरटी जेभीलाई ५ वर्षको लागि दिइएको छ । सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको सुरुङमार्गको अनुगमनका क्रममा निर्देशक नेपालले सुरुङमार्गका भौतिक प्रगतिका बारेमा सांसदलाई जानकारी गराएका थिए । सो क्रममा नेपालले सुरुङमार्ग निर्माणमा केही ढिलाई भएको बताए । ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उनको भनाइ छ ।

करिव २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ निर्माण कार्यमा र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको बताए । सुरुङमार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ । पावर सप्लाइ, स्मार्ट लाइटिङ, सिसिटिभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, भेन्टिलेसन प्रणाली (सवारी चापअनुसार स्वचालित) र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको उनले जानए ।

साथै आपतकालीन अवस्थामा सूचना दिन ‘भेरिएबल म्यासेज साइन’, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ । कुल २.६८८ किलोमिटर लम्बाइको यस सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङमार्ग सवारीसाधन आवतजावतका लागि प्रयोग हुनेछ भने अर्को सुरुङ आपत्कालीन उद्धार तथा सुरक्ष प्रयोजनका लागि निर्माण गरिएको हो । यी दुई सुरुङलाई हरेक ३७५ मिटरमा आपसमा जोड्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसले आकस्मिक अवस्थामा सुरक्षित निकासको सुविधा प्रदान गर्नेछ । 

 जापानको हाजमा आन्दो कर्पोरेसनले सुरुङ निर्माणको कार्य गरेको हो भने निप्पोन कोइ, जीइओ रिसर्च र नेपाली परामर्शदाता संस्थाहरूको संयुक्त रुपमा सुरुङमार्गको डिजाइन तथा सुपरभिजन गरेका थिए ।