भृकुटी कागज कारखानाका ३३३ जना श्रमिकको ४० करोड बक्यौता माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन मागपत्र बुझाएका हुन् ।

काठमाडौं । भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक माग्दै सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन मागपत्र बुझाएका हुन् ।

नवलपुरको गैँडाकोटमा रहेको उक्त उद्योग २०६७ देखि पूर्ण रूपमा बन्द छ । लामो समयदेखि पारिश्रमिक नपाउँदा पाउने आशामा कति श्रमिकको मृत्यु समेत भइसकेको माग पत्रमा उल्लेख छ । उनीहरूले गैँडाकोट नगरपालिकामा रहेको ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाइ कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै ५ दिनभित्र आफ्नो माग सम्बोधन नगरे आन्दोलनको कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएका छन् ।