सम्पत्ति सिर्जना र कानूनी सुधारमार्फत आर्थिक विकासमा लाग्न निजी क्षेत्रको आग्रह
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् ।
आर्थिक स्थायित्वको यो अवस्था विरलै प्राप्त हुने उल्लेख गर्दै उहाँले यस अवसरलाई पूँजी निर्माण र उत्पादन वृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष पाण्डेले समाजमा ‘आय आर्जन’ भन्दा पनि ‘सम्पत्ति सिर्जना’ को अवधारणालाई फरक ढङ्गले हेरिनुपर्ने बताएका हुन् । नेपालमा निजी क्षेत्रको कुल स्थिर पूँजी निर्माण घट्दो क्रममा रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सम्पत्ति सिर्जनालाई प्रोत्साहन र सम्मान गर्ने सामाजिक वातावरण निर्माण गर्न आवश्यक रहेको औंल्याएका छन् । सार्वजनिक र निजी क्षेत्रबीच विद्यमान ‘विश्वासको संकट’ लाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिँदै विकसित मुलुकहरूले अवलम्बन गरेको औद्योगिक विकास रणनीतिलाई नेपालले पनि पछ्याउनुपर्ने धारणा राख्दै उनले पुराना कानूनी अड्चनहरू हटाउनुपर्ने माग गरेका हुन् । कर्पोरेट कानूनहरूको ‘वि-अपराधीकरण’ र ‘एन्टिसिपेटरी बेल’ को व्यवस्था हुनुपर्ने उनको तर्क छ । यस सन्दर्भमा भारतले ‘जन विश्वास बिल’ मार्फत धेरै ऐनका कसुरहरूलाई परिमार्जन गरेको उदाहरण दिँदै उनले नेपालमा पनि लगानी विस्तारका लागि कानुनी सहजता आवश्यक रहेको बताएका छन् ।
पाण्डेले भने, ‘व्यावसायिक वातावरणमा स्पष्टता र पूर्वानुमान योग्यता (प्रेडिक्टेबिलिटी) भए मात्र लगानीकर्ताको आत्मविश्वास बढ्छ । यसले अन्ततः उत्पादन वृद्धि, आयात प्रतिस्थापन र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत पुर्याउँछ ।’
यसैबीच, परिसंघले नेपाली अर्थतन्त्रलाई १०० बिलियन डलरको आकारमा पुर्याउने लक्षयसहितको विस्तृत मार्गचित्र (रोडम्याप) तयार पारिरहेको जानकारी दिएको छ । उक्त मार्गचित्रअनुसार वार्षिक ६.५ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गर्न सके सन् २०३० सम्ममा नेपालको अर्थतन्त्र (नोमिनल जीडीपी) १०० बिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ । परिसंघको लक्षयअनुसार सन् २०३९ सम्ममा वास्तविक टर्ममा १०० बिलियन डलरको अर्थतन्त्र, सन् २०४६ सम्ममा नेपाललाई उच्च मध्यम आय भएको मुलुक बनाउने र सन् २०५० सम्ममा १९१ बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने सोच राखिएको छ । यसका लागि आवश्यक कानुनी प्रावधान र थप लगानीको खाका समेटिएको विस्तृत कार्ययोजना निकट भविष्यमै सार्वजनिक गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।