गभर्नर पौडेलसहित सरकारी बैंकका पदाधिकारी पदमुक्त नहुने
सरकारले अध्यादेशमार्फत ११० वटा कानून संशोधन हुनेगरी जारी गरेको अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐनलाई समावेश नगरेका कारण गभर्नर विश्वनाथ पौडेलको पद कायम नै हुने भएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकमा नियुक्ति भएका पदाधिकारीहरु पदमुक्त नहुने भएका छन् । सरकारले अध्यादेशमार्फत ११० वटा कानून संशोधन हुनेगरी जारी गरेको अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐनलाई समावेश नगरेका कारण गभर्नर विश्वनाथ पौडेलको पद कायम नै हुने भएको हो ।
यसअघि गभर्नर पनि हटाउने भनिएपनि अध्यादेशमा समावेश नभएका कारण गभर्नर पौडेलसहित तीन बैंक नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतका पदाधिकारीहरु पदमुक्त नहुने भएका हुन् ।
शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।