बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा
सरकारले शुक्रबार काठमाडौँका बल्खु, बंशीघाट र शंखमूल क्षेत्रमा रहेका कुल ७४४ घर-टहरा हटाएको छ ।
काठमाडौँ । सरकारले शुक्रबार काठमाडौँका बल्खु, बंशीघाट र शंखमूल क्षेत्रमा रहेका कुल ७४४ घर-टहरा हटाएको छ । हटाइएका संरचनामध्ये बल्खुमा ४०१ वटा घर, टहरा र छाप्रो हटाइएको छ भने बंशीघाटमा १९३ वटा संरचना भत्काइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । त्यस्तै शंखमूल क्षेत्रमा १५० वटा पक्की घर हटाइएको छ ।
यस क्रममा ३२३ परिवार सम्पर्कमा आएको र उनीहरूका कुल १ हजार ४१४ सदस्य प्रभावित भएका छन् । प्रभावितमध्ये ८० जनालाई तत्कालका लागि खरिपाटीमा स्थानान्तरण गरी व्यवस्थापन गरिएको सचिवालयले जानकारी दिएको छ । सरकारले दोस्रो चरणअन्तर्गत शुक्रबारदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने कार्य गरेको हो ।
पहिलो चरणमा थापाथली, सिनामंगल-गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती हटाइसकिएको छ ।