लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, ४ अर्ब ९१ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा झरेको छ । आज नेप्सेमा कुल ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । बिहीबार नेप्से परिसूचक ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । हिजो भने ४ अर्ब ९८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको सेयरमूल्य सर्वाधिक १२.५७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक १०.३८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ७५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बिहिबार ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।