फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

नयाँ भाडादर विद्युतीय सवारीको हकमा भने लागु हुने छैन ।

विभागले देशभर सञ्चालन हुने अन्तर प्रदेश (लामो दूरी) का यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा ५ प्रतिशतले वृद्धि गरेको हो ।

काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले देशभर सञ्चालन हुने अन्तर प्रदेश (लामो दूरी) का यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा ५ प्रतिशतले वृद्धि गरेको हो । पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्यमा भएको भारी वृद्धिका कारण विभागले स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय गरेको हो । विभागले सूचना जारी गर्दै नयाँ भाडादर आज(बुधबार) देखि नै लागू हुने जानकारी दिएको छ ।

यात्रुवाहक, तराईको बाटोमा चल्ने र पहाडको बाटोमा चल्ने मालबाहक गाडिको भाडा ५ प्रतिशतका दरले वृद्धि गरिएको हो । यस अघि सरकारले चैत २५ गते यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको थियो ।

विभागले जारी गरेको सूचनाअनुसार डिजेलको मूल्य पछिल्लो समय ३० प्रतिशतभन्दा बढीले बढेको छ। यसले सञ्चालन खर्च बढेपछि भाडा पनि बढाइएको हो । नयाँ भाडादर विद्युतीय सवारीको हकमा भने लागु हुने छैन । दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने अन्तरप्रदेशीय सार्वजनिक यातायातमा लागू हुने गरी भाडादर समायोजन गरिएको हो ।