शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेको विषयमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र निजलाई उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका माननीय न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो। गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई निर्देशन दिएको छ।
काठमाडौँ जिल्ला अदालतले सोमबार मात्रै गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति प्रदान गरेको थियो।
सीआईबीको टोलीले बिहीबार (वैशाख १० गते) उद्योगी गोल्छालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। सर्वोच्च अदालतको यस आदेशसँगै अब गोल्छालाई अदालतमा उपस्थित गराई हिरासतमा राख्नुको कारणबारे लिखित जवाफ पेस गर्नुपर्ने छ।