टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौंः सरकारका प्रवक्ता

सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले त्रिविसँग नयाँ लिज एग्रिमेण्ट गरिने बताएका हुन् ।

काठमाडौं ।  सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पारेका छन् ।

सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले त्रिविसँग नयाँ लिज एग्रिमेण्ट गरिने बताएका हुन् ।

उनले विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ तवरले सम्झौता गरेर अघि बढ्ने बताए । ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन् । भत्किने भन्ने हुँदैन’ उनले भने ।

त्रिभूवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ ।

उनले सरकारको ३० दिनको कामबारे आफूले मूल्याङ्कन गरिरहेको समेत बताएका छन् । ३० दिनमा गर्ने काम लगभग अघि बढिसकेको भन्दै १०० दिनमा गर्ने कामको दिशामा पनि उन्मुख भएको पोखरेलको भनाइ छ ।