सेयर बजारमा ७.७३ अंकको वृद्धि, कारोबार रकम भने ४ अर्ब ७४ करोडमा सीमित

सोमबार नेप्से परिसूचक ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा पुगेको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । सोमबार  सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो शुक्रबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । आज ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटि होटलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ । 

सोमबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।