होस्टेल कार्यविधि २०८०: सुधारको अन्तिम मौका दिँदै महानगरपालिका, नियम नमान्नेलाई बन्द गर्ने सम्मको कारबाही

महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार महानगरपालिकाभर अहिले पाँचवटा अनुगमन उपसमितिहरू सक्रिय रहेका छन् । जसमा वडा कार्यालय र व्यवसायी संघका प्रतिनिधिहरू पनि सहभागी छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘होस्टेल सञ्चालन व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेसँगै महानगरभित्रका सबै होस्टेलहरूलाई नियमन र अभिलेखीकरणको दायरामा ल्याउन शुरु गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार महानगरपालिकाभर अहिले पाँचवटा अनुगमन उपसमितिहरू सक्रिय रहेका छन् । जसमा वडा कार्यालय र व्यवसायी संघका प्रतिनिधिहरू पनि सहभागी छन् । महानगरले मुख्यतया ६ वटा महत्वपूर्ण पाटाहरूमा केन्द्रित रहेर अनुगमन गरिरहेको छ । प्रशासनिक अवस्था, भौतिक पूर्वाधार (शौचालय, किचेन आदि), आर्थिक पारदर्शिता, खाद्यान्नको गुणस्तर, अभिलेखीकरण र विद्यार्थी कल्याणबारे अनुगमन गरिएको उनले जानकारी दिए । आफूहरुको मुख्य उद्देश्य होस्टेल बन्द गर्ने भन्दा पनि सुधार गर्ने भएको र व्यवसायीहरूलाई क्रमिक रूपमा सुध्रिने मौका दिइने बताए । अनुगमनका क्रममा कतिपय होस्टेलहरू महानगरमा दर्ता नै नभई सञ्चालन भएको भेटिएका छन् भने कतिपयमा न्युनतम पूर्वाधारको समेत अभाव देखिएको छ ।

महानगरले कमजोरी देखिएका होस्टेलहरूलाई निश्चित समय सीमा तोकेर सुधार गर्न निर्देशन दिएको छ । यदि दिएका सुझावहरू कार्यान्वयन नभएमा कार्यविधि अनुसार कडा कारबाही र होस्टेल नै बन्द गर्ने प्रक्रिया अगाडि बढाइने उनले जनाए ।  

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य अनिलकुमार श्रेष्ठले अनामनगर क्षेत्रका होस्टेलहरूको स्थलगत निरीक्षण गर्दै व्यवसायीहरूलाई स्वास्थ्य र सरसफाईमा विशेष केन्द्रित हुन निर्देशन दिएका छन् । अनुगमनका क्रममा उनले होस्टेल व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र नभई एक संवेदनशील सेवामूलक क्षेत्र भएको स्पष्ट पारे । श्रेष्ठकाअनुसार होस्टेल सञ्चालकहरूमा सामान्य स्वास्थ्य सम्बन्धी ज्ञान हुनु अनिवार्य छ । 

उनले विशेषगरी खानेकुराको गुणस्तरमा जोड दिँदै सकेसम्म अर्गानिक खानेकुराहरू खुवाउन सुझाव दिए । 

निरीक्षणका क्रममा केही गम्भीर समस्याहरू पनि देखिएका छन् । भर्‍याङको चेपमा समेत विद्यार्थी सुताउने गरिएको र झ्यालै नभएको कोठाहरूमा विद्यार्थी व्यवस्थापन गरिएको गुनासो प्राप्त भएको भन्दै ती क्षेत्रहरूको पनि अनुगमन बाँकी रहेको उनले जनाएका छन् । 

यो अनुगमन काठमाडौं महानगरपालिकाले पहिलो पटक फिल्डमै आएर शुरु गरेको हो ।

झापाको दमक घर भएकी स्वस्तिका श्रेष्ठ ब्याचलर्स फस्र्ट इयरको परीक्षाको तयारीका लागि काठमाडौं आएको चार महिना भएको छ । पहिलो पटक होस्टेल बस्न थालेको उनले शुरुमा धेरै चिन्ता लिए पनि अहिलेको आफ्नो जीवनशैलीप्रति पूर्ण सन्तुष्ट रहेको बताइन । अनामनगरको एक होस्टेलमा बसिरहेकी स्वस्तिकाले मासिक १२ हजार रुपैयाँ शुल्क तिर्दै आएकी छन् । यो शुल्कमा उनले एट्याच्ड बाथरुम, बिहान-बेलुकाको खाना र दिउँसोको खाजा सहितका सुविधाहरू पाउँछिन् । 

होस्टेल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य दिनेश पराजुलीले काठमाडौं महानगरपालिकाको अनुगमन कार्य सहरानीय रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । लामो समयको पछि शुरु भएको अनुगमनले बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्ने उनले विश्वास व्यक्त गरे । महानगरले ल्याएको मापदण्डका अधिकांश बुँदाहरू व्यवहारिक रहे पनि केही कुराहरू जस्तै लाइब्रेरी र खेलकुदका लागि ठूलो ठाउँ उपलब्ध गराउन अहिलेको काठमाडौंको महँगो भाडा दरका कारण चुनौतीपूर्ण रहेको उनले औंल्याए । तर समग्रमा व्यवसायीहरू व्यवस्थित हुनैपर्नेमा उनले जोड दिए । 

अनुगमनले केवल गल्ती खोज्ने मात्र नभई व्यवसायीलाई घच्घचाउने काम गर्ने उनको बुझाइ छ । काठमाडौं महानगरपालिकाले आईतवार अनामनगरस्थित महिला होस्टेलहरुको अनुगमन गरेको हो ।