दिल्ली विमानस्थलबाट उड्नै लाग्दा स्विस एयरलाइन्सको जहाजमा आगलागी, ६ जना घाइते
स्विस एयरलाइन्सको एलएक्स१४७ विमानको इन्जिनमा उडान भर्नु ठीक अघि आगो लागेको थियो ।
काठमाडौं । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने क्रममा स्विस एयरलाइन्सको विमानको एउटा इन्जिन बिग्रिएपछि आगलागी भएको छ । स्विस एयरलाइन्सको एलएक्स१४७ विमानको इन्जिनमा उडान भर्नु ठीक अघि आगो लागेको थियो । विमान शनिबार राति १:०८ बजे स्विट्जरल्यान्डको ज्युरिखका लागि उड्ने तयारीमा थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान रनवेमा गुडिरहेको बेला इन्जिन नम्बर १ मा समस्या देखिएपछि चालक दलले तुरुन्तै उडान रद्द गर्ने निर्णय गरेका थिए । विमानमा ४ शिशुसहित २२८ यात्रु र चालक दलका सदस्य गरी कुल २३२ जना सवार थिए ।
अधिकारीहरूका अनुसार सबै यात्रुलाई आपत्कालीन स्लाइडमार्फत सुरक्षित रूपमा रनवेबाट बाहिर निकालिएको थियो । घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि मेदान्त अस्पताल भर्ना गरिएको छ । अन्य यात्रुहरू भने सुरक्षित रहेका छन् । यस घटनापछि विमानस्थलको रनवे २८ केही समयका लागि बन्द गरिएको थियो ।