थापाथलीमा सुकुम्बासी बस्ती खाली गराउने तयारी, बिहानैदेखि सुरक्षकर्मीको बाक्लो उपस्थिति
शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान पोको पार्दै देखिएका छन् ।
काठमाडौं । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ । शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान पोको पार्दै देखिएका छन् । केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकाहरू भने अझै बस्तीमै रहेका छन् ।
प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ । बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।