तेस्रो त्रैमासमा सानिमा बैंकको नाफा ४२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ६५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन-चैत)सम्ममा २ अर्ब ३५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । सानिमा बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो । 

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ६५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी २०.४८ प्रतिशतले बढेको छ । आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि समीक्ष अवधिमा २ अर्ब २५ करोड १३ लाख रुपैयाँबाट ४७.५० प्रतिशतले वृद्धि भई ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँ नाघेको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि ६ अर्ब ४ करोड ५७ लाख रुपैयाँबाट बढेर ७ अर्ब २७ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

चुक्तापुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब १० करोड २९ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ थियो ।

बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्ष अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँबाट बढेर २२.९२ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ रहेको छ।