सेयर बजार हेरफेर प्रकरणमा व्यवसायी शेखर गोल्छा पक्राउ

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा-१ र दफा-९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते (आज) काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई पक्राउ गरिएको हो ब्यूरोले जनाएको छ । गोल्छासहित ६ जनामाथि संगठित रूपमा सेयर मूल्य हेरफेर गरेको आशंका गरिएको छ ।

प्रतिवेदनअनुसार दीपक भट्ट नेतृत्वको समूहले दोस्रो बजारमा कृत्रिम माग सिर्जना गरी सूचीकृत कम्पनीहरूको सेयर मूल्य बढाउने काम गरेको उल्लेख छ। उक्त कारोबारमा गोल्छालाई ‘सहयोगी’को रूपमा राखिएको छ ।