विद्यार्थीलाई ४५% भाडा छुट अनिवार्य लागू गर्न सरकारको निर्देशन, उल्लंघन गरे कारबाही
इन्धनको मूल्यवृद्धिपछि केही सवारीसाधनले छुट नदिएको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो । ‘हेलो सरकार’ र गुनासो पेटिकामार्फत विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको भन्दै निरन्तर उजुरी दिएका थिए।
काठमाडौँ । सरकारले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै उक्त सहुलियत कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीको कानुनी अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।
इन्धनको मूल्यवृद्धिपछि केही सवारीसाधनले छुट नदिएको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो । ‘हेलो सरकार’ र गुनासो पेटिकामार्फत विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको भन्दै निरन्तर उजुरी दिएका थिए।
विद्यार्थी परिचयपत्र देखाउँदा समेत छुट दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने घटनाहरू बढेपछि विभागले पुनः ध्यानाकर्षण गराएको जनाएको छ ।
विभागले २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति सम्झाउँदै सोहीअनुसार छुट दिनुपर्ने स्पष्ट पारेको छ। उक्त सहमतिअनुसार विद्यार्थीहरूले सार्वजनिक सवारीमा ४५ प्रतिशत भाडा छुट पाउँदै आएका छन् ।
निर्देशन अवज्ञा गरी परिचयपत्र भएका विद्यार्थीलाई छुट नदिने सवारीसाधनमाथि कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ ।