दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग
अभियोगपत्रमा उनलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले मंगलबार अदालतमा अभियोगपत्र दर्ता गर्दै प्रसाईंलाई विद्युतीय माध्यमबाट भ्रामक तथा उत्तेजक अभिव्यक्ति फैलाएको आरोप लगाएको हो । अभियोगपत्रमा उनलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । यस दफाअनुसार कसुर पुष्टि भएमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, प्रसाईंले पटक-पटक यस्ता कसुर गरेको भन्दै थप सजायको माग समेत गरिएको छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।
प्रसाईँले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ । विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा बोलेको, 'निर्वाचन गरिए देश टुक्रिन्छ' भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रसाईँले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए । ती भिडियोहरूमा उनले 'मर्न र मार्न तयार हुने' जस्ता हिंसात्मक र उत्तेजक शब्दहरू प्रयोग गरेको प्रमाणका रूपमा पेश गरिएको छ ।