पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत कारबाहीमा

अध्यागमन विभागले प्रचलित कानुन र विभागीय नीति विपरीत कार्य गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ती अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ । अध्यागमन विभागले प्रचलित कानुन र विभागीय नीति विपरीत कार्य गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ती अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अगाडि बढाएको हो । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको स्पष्ट पारेका छन् । नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ ।

उनीहरुको विवरण भने खुलाइएको छैन ।विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो । सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो । विमानस्थल अध्यागमनमा हुने यस्ता गतिविधिले नागरिकमा भ्रम र सास्ती सिर्जना गर्ने भन्दै विभागले सेवा प्रवाहलाई थप मर्यादित र कानुनसम्मत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।