एनआईसी एशिया बैंकका ४४ शाखा मर्ज, कुन-कुन शाखा भए बन्द (सूचीसहित)

समायोजन पश्चात् ग्राहकहरूले साविकको शाखाबाट पाइरहेका सम्पूर्ण बैंकिङ सुविधाहरू समायोजन भई बनेका एकीकृत शाखाहरूबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका ४४ वटा शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखाहरूमा समायोजन (मर्ज) गरेको छ । बैंकले आजदेखि लागू हुने गरी उक्त शाखा कार्यालय समायोजन गरी बन्द गरेको हो । बैंकका अनुसार एकै क्षेत्रमा रहेका र ३०० मिटरदेखि ४.१ किलोमिटरसम्मको छोटो दूरीमा रहेका शाखाहरूलाई समायोजन गर्न लागिएको हो । समायोजन पश्चात् ग्राहकहरूले साविकको शाखाबाट पाइरहेका सम्पूर्ण बैंकिङ सुविधाहरू समायोजन भई बनेका एकीकृत शाखाहरूबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसअन्तर्गत काठमाडौं उपत्यका मात्रै ३२ वटा मर्ज हुने भएका छन् । बैंकले काठमाडौंका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार बोहोराटार, माछापोखरी, ढुङ्गेधारा-नर्सरी चोक न्यूरोड खिचापोखरी, भोटाहिटी, किलागल, तिन्चुली, चाबहिल, नरेफाट, बालुवाटार, अनामनगर, शंखमुल, मध्य बानेश्वर, खसीबजार, कपन, गोंगबु सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुल शाखा कार्यालय बन्द गरेको छ ।

यस्तै, ललितपुरमा रहेका लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को, खुमलटार, खोकना र चितवनमा रहेको बसेनी शाखा कार्यालय पनि गाभ्ने भएको छ। कास्की जिल्लामा रहेको पावर हाउस चोक, बुढी बजार, बाझा पाटन, महेन्द्रपुल-पोखरा, बगर र बिरौटा शाखा कार्यालय पनि बन्द भएका छन् ।

साथै, मोरङमा रहेको विराटनगर मेनरोड, हाटखोला, रानी मिल्स एरिया र पर्सामा रहेको लिंक रोड, पावरहाउस चोकमा रहेको शाखा कार्यालय पनि गाभ्ने भएको छ। यसरी काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लामा रहेका ठुला संख्याका शाखा कार्यालय बन्द भएका छन् ।

बैंकले यो प्रक्रियाबाट बैंकको सञ्चालन दक्षता बढ्ने र ग्राहकहरूलाई अझ स्तरीय सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरेको छ । ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति ध्यान दिँदै बैंकले समायोजन हुने शाखाहरूका ग्राहकलाई नजिकैको एकीकृत शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।