निजी क्षेत्रका गतिविधिमा पनि निगरानी गर्ने अख्तियारको तयारी
निजी क्षेत्रका हरेक क्रियाकलापहरुमा सुशासन प्रत्याभुति गराउने उद्देश्यले अख्तियारले व्यावसायिक कारोबारमाथि समेत छानविन गर्ने तयारी गरेको हो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब निजी क्षेत्रका व्यवसायिक गतिविधिहरूमाथि समेत निगरानी राख्ने भएको छ । निजी क्षेत्रका हरेक क्रियाकलापहरुमा सुशासन प्रत्याभुति गराउने उद्देश्यले अख्तियारले व्यावसायिक कारोबारमाथि समेत छानविन गर्ने तयारी गरेको हो । अख्तियारले सार्वजनिक गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३ - २०८७/८८) अनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्शानी भएको वा अनुचित लाभ लिए दिएकोमा बाहेक दुष्कृतिजन्य कार्य सच्चाउन अवसर प्रदान गर्ने गरी नीतिगत तथा कानूनी व्यवस्थामा सुधार गरिनेछ । त्यसका लागि सहकारी क्षेत्र र पब्लिक वा प्राइभेट कम्पनी वा अन्य कुनै निजी संघ, संस्थामा हुने भ्रष्टाचार निवारण गर्न आवश्यक व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ ।
रणनीतिअनुसार २ वर्ष भित्र सहकारी क्षेत्र र सार्वजनिक वा निजी कम्पनी वा अन्य कुनै निजी संघ, संस्थामा हुने भ्रष्टाचारको परिभाषा, भ्रष्टाचारजन्य कसूर र सजाय, निजीक्षेत्रको सम्पत्ति हिनामिना वा नोक्सानीको विगो भराउने, अनुसन्धान, तहकिकात एवं अभियोजन गर्ने निकाय तथा मुद्दा हेर्ने निकाय समेत तोक्ने गरी नयाँ भ्रष्टाचार निवारण ऐनको निर्माण गर्ने योजना बनाइएको छ ।